२० असार,काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनपछि दुई लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले रेष्टुरेन्टमा खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको ठहर गर्दै कारबाही गरेको हो।
अनुगमनका क्रममा रेष्टुरेन्टमा सरसफाइको अवस्था सामान्य देखिए पनि म्याद गुज्रिएको फ्रुट सिरप प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ। साथै, पिज्जा बेसमा प्रयोग गरिने तेलमा साङ्ला भेटिएको तथ्य पनि अनुगमन टोलीले फेला पारेको हो।
त्यसैगरी, रेष्टुरेन्टभित्रको फ्रिजमा खाद्य सामग्रीको भण्डारण अव्यवस्थित रहेको पाइएको छ। प्रयोग भइरहेको तेलको टोटल पोलर मटेरियल (TPM) स्तर २२.० रहेको पनि वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिइन्, जुन स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ।
विभागका अनुसार अनुगमनका क्रममा म्याद नाघेका तथा पूर्ण लेबल विवरण नभएका दुई बोतल स्क्वास पनि फेला परेका थिए, जसलाई तत्काल नष्ट गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रेष्टुरेन्ट सञ्चालकलाई देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ।
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित अनुगमनलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।



















