२१ असार, काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभावले गर्दा आगामी केही दिन मौसम प्रतिकूल हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी क्षेत्रतर्फ सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी क्षेत्रतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ । यसकै प्रभावका कारण हाल देशैभर साधारणतया बादल लाग्नुका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
मौसमविद्हरूका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू-भागमा बदली रही वर्षाको सम्भावना छ । विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहनेछ भने तराईका भू-भागमा पनि आंशिकदेखि साधारणतया बादल लाग्नेछ ।
महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।
आज राति पनि मौसममा सुधार हुने सङ्केत छैन । राति कर्णाली र सुदूरपश्चिममा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिको समयमा पनि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई दुवै क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा मुसलधारे (भारी) वर्षा हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।
भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने, पहाडी भू-भागमा पहिरो जान सक्ने र तराईका होचा भू-भागहरू डुबानमा पर्न सक्ने जोखिम रहन्छ। महाशाखाले सहरी तथा ग्रामीण क्षेत्रमा हुन सक्ने यातायात अवरोध र कृषि क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सर्वसाधारणलाई आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।



















