Logo

२१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक भारतीय नागरिक लागु औषध प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान लगेज चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएपछि भारतको कोलकत्ता पश्चिम बंगाल बस्ने ५७ वर्षीय हरि क्षेत्रीलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतीय नागरिक क्षेत्री थाई एयरवेजको उडान नम्बर टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए। बरामद लागुऔषध गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लान लागिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ।

साथै उनको साथमा रहेका पासपोर्ट र मोबाइल पनि प्रहरीले जफत गरेको छ। पक्राउ गरिएका क्षत्रीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध ब्युरोले जनाएको छ।


सम्बन्धित समाचार