२२ असार, ठोरी (पर्सा) । विनाभन्सार भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल भित्रिन नदिने सरकारको नीति र स्थानीय छोटी भन्सार कार्यालय बन्द हुनुको दोहोरो चेपुवामा ठोरी नाका परेको छ ।
भन्सार तिरेर नेपाल पस्न चाहने भारतीय पर्यटकका लागि समेत राजश्व बुझाउने पूर्वाधार नहुँदा यस क्षेत्रको पर्यटन व्यवसाय गम्भीर संकटमा परेको छ । ठोरी हुँदै माडी र सौराहातर्फ जाने भारतीय पर्यटकको सङ्ख्या अचानक घटेपछि सीमावर्ती क्षेत्रदेखि चितवनसम्मकै पर्यटन उद्योग सुनसान बनेको छ।
सडक र यातायातका हिसाबले मधेस र बागमती प्रदेशलाई जोड्ने यो महत्त्वपूर्ण प्रवेशद्वार ठप्प भएपछि होटल, रिसोर्ट र स्थानीय अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ ।
सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका अनुसार विनाभन्सारका गाडीलाई नेपाल प्रवेश गराउन गृह मन्त्रालयको कडा बन्देज छ । सुरक्षाकर्मीहरूले ‘माथिल्लो’ आदेशको अक्षरशः पालना गरिरहेका छन् । तर विडम्बना, ठोरीमा रहेको छोटी भन्सार कार्यालय बन्द रहेकाले भारतीय गाडीको कानुनी रूपमा भन्सार काट्ने कुनै विकल्प छैन । नेपाली सुरक्षा निकायको यही कानुनी अडान र समन्वयपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि भारततर्फबाट आउने निजी सवारी साधनलाई सीमानाकामै रोकेर फर्काउन थालेको छ ।
यस्तो असहज परिस्थितिका बीच पनि ठोरी आउनैपर्ने बाध्यता र चाहना भएका कतिपय भारतीय पर्यटकहरूले आफ्ना गाडी सीमापारि भारतकै भिखना ठोरी क्षेत्रमा असुरक्षित रूपमा पार्किङ गरेर पैदल नै हिँडेर नेपाल भित्रिने गरेको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले बताए । गाडी नै वारि ल्याउन नपाएपछि लामो दुरीको यात्रामा निस्किएका पर्यटकहरू सीमाबाटै फर्कन थालेका छन् ।
पछिल्ला वर्षहरूमा ठोरी मधेस प्रदेशकै उदीयमान पर्यटकीय ‘हब’का रूपमा स्थापित हुँदै थियो । यहाँ आउने भारतीय पर्यटकहरू आफ्नै निजी सवारी साधनमार्फत ठोरी प्रवेश गरी माडी हुँदै चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्ने गर्थे । यही पर्यटकीय चक्र (टुरिजम सर्किट) का कारण ठोरी र माडी क्षेत्रमा करोडौँको लगानीमा अत्याधुनिक होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् ।
अहिले सीमामा भारतीय गाडीलाई ‘नो इन्ट्री’ गरिएपछि त्यसको प्रत्यक्ष र नकारात्मक असर ठोरी, माडी हुँदै सौराहासम्म देखिन थालेको छ । “हाम्रा होटलका कोठाहरू र रेस्टुरेन्टहरू अहिले पाहुना नभएर खाली छन्,” एक स्थानीय होटल सञ्चालकले दुःखसो पोखे, “राज्यको नीति र पूर्वाधारबीच तालमेल नहुँदा हामी व्यवसायीहरू बैंकको ब्याज नै तिर्न नसक्ने गरी सडकमा पुग्ने अवस्था आएको छ।”
व्यवसायीहरूले सुरक्षा र कानुनी प्रक्रिया आवश्यक भए पनि पर्यटन र स्थानीय अर्थतन्त्रलाई असर नपर्ने गरी व्यावहारिक समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूका अनुसार सीमा नीतिमा स्पष्टता नहुँदा ठोरी क्षेत्रको पर्यटन विकासमा प्रतिकूल असर परेको छ ।
स्थानीय सरोकारवालाहरूले सम्बन्धित निकायबीच समन्वय गरी भारतीय पर्यटकको सहज आवागमन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूका अनुसार ठोरी केवल सीमावर्ती नाका मात्र नभई मधेस र चितवनको पर्यटनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वार भएकाले यस क्षेत्रमा देखिएको अवरोध दीर्घकालीन रूपमा पर्यटन उद्योगकै लागि चुनौती बन्न सक्ने देखिएको छ।
व्यवसायीहरूले पर्यटन र स्थानीय अर्थतन्त्रलाई अपूरणीय क्षति हुनबाट जोगाउन तत्काल ठोरी छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउन वा भारतीय पर्यटकका सवारी साधनका लागि अस्थायी रूपमा राजश्व संकलन गर्ने विशेष काउन्टर खडा गर्न संघीय सरकार र गृह मन्त्रालयसँग माग गरेका छन् ।



















