Logo

२३ असार, सप्तरी । सप्तरीमा ३३ हजार घुस रकम लिएको आरोपमा पशु सेवाका निमित्त प्रमुखसहित दुई जना पक्राउ परेका छन्  । राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग भुक्तानी सहज गरिदिने बहानामा कुल रकमको २० प्रतिशत कमिसन (घुस) माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार निमित्त कार्यालय प्रमुख डा. दासकै योजना र निर्देशनमा सवारी चालक भोगेन्द्र यादवले सेवाग्राहीबाट घुस रकम बुझ्ने गरेका थिए । विशेष सूचनाका आधारमा पुगेको टोलीले यादवलाई घुसस्वरूप लिइसकेको ३३ हजार ३५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो ।

सोही क्रममा खानतलासी गर्दा चालक यादवको साथबाट स्रोत नखुलेको थप ४८ हजार ७० रुपैयाँ समेत बरामद भएको छ । अख्तियारले उनको साथबाट जम्मा ८१ हजार ४२० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

नगदका अलावा पक्राउ परेका दुवै जनाको साथबाट शङ्कास्पद वित्तीय कारोबारका प्रमाणहरू समेत फेला परेका छन् । अख्तियार टोलीले चालक यादवको साथबाट १ लाख २९ हजार रुपैयाँ बराबरका चार थान चेक र एक थान मोबाइल फोन बरामद गरेको छ ।

त्यस्तै, मुख्य अभियुक्त मानिएका निमित्त कार्यालय प्रमुख डा. दासको व्यक्तिगत खानतलासी गर्दा उनको साथबाट १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेक र एक थान मोबाइल फोन जफत गरिएको छ । ती चेकहरू कुन प्रयोजनका लागि र कसले काटेको हो भन्नेबारे अख्तियारले अनुसन्धान थालेको छ ।


सम्बन्धित समाचार
भर्खरै