२३ असार, (ठोरी) पर्सा । लामो समयदेखि भारतीय सवारीसाधनको सहज प्रवेशको माग गर्दै आन्दोलनरत ठोरीका पर्यटन व्यवसायी, स्थानीय व्यापारी र सरोकारवालाको प्रयासले अन्ततः परिणाम दिएको छ। आजदेखि ठोरी छोटी भन्सार कार्यालयले भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनलाई ुनिःशुल्क सुविधा पासु उपलब्ध गराउन थालेपछि सीमा नाकाबाट स्थानीय बजार र पर्यटकीय क्षेत्रतर्फ सवारी आवागमन पुनः सुचारु भएको छ।
यसअघि भारतीय पर्यटकले आफ्नै सवारीसाधनमा ठोरी बजार वा आसपासका पर्यटकीय गन्तव्यसम्म पुग्न पनि विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्थ्यो। निःशुल्क पासको व्यवस्था नहुँदा राजस्व तिरेर मात्र प्रवेश गर्नुपर्ने बाध्यता थियो। परिणामस्वरूप अधिकांश भारतीय सवारीसाधन सीमा क्षेत्रमै रोकिने गरेका थिए, जसले ठोरीको पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको गुनासो थियो।
यही समस्यालाई लिएर स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाले निरन्तर आन्दोलन गर्दै आएका थिए। पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले समेत सोमबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसअघि पर्यटन व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएर भारतीय सवारीसाधनलाई ठोरी छोटी भन्सारबाटै निःशुल्क सुविधा पास उपलब्ध गराउन माग गरेको थियो।
स्थानीय तह, प्रशासन र सम्बन्धित निकायबीचको छलफलपछि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई ठोरी छोटी भन्सारबाटै निःशुल्क सुविधा पास उपलब्ध गराउने सहमति भएको हो। त्यससँगै लामो समयदेखिको अवरोध हटेको छ।
नयाँ व्यवस्था लागू भएसँगै आज बीआर २२ पीए ०३९२ नम्बरको भारतीय चारपाङ्ग्रे सवारीसाधनले निःशुल्क सुविधा पास लिएर पहिलो पटक ठोरी बजार प्रवेश गरेको छ। यसलाई स्थानीय व्यवसायीले सीमा क्षेत्रमा देखिएको समस्या समाधानतर्फको सकारात्मक सुरुवातका रूपमा लिएका छन्।
व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको सहज आवागमन पुनः सुरु भएपछि ठोरीको पर्यटन क्षेत्र चलायमान हुने, होटल तथा व्यापारिक गतिविधिमा सुधार आउने र स्थानीय अर्थतन्त्रले समेत गति लिने अपेक्षा गरिएको छ। स्थानीयहरूले यस व्यवस्थालाई निरन्तरता दिँदै सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि थप सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन्।



















