२४ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आतङ्क मच्चाउँदै २५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काट्ने तयारी गरिएको छ ।
निकुञ्ज प्रशासनले पछिल्लो समय पुनः आक्रामक बनेको उक्त हात्तीलाई बेहोस बनाई (डार्ट गरेर) दाह्रा छोटो पार्ने र पुरानो भई प्रभावकारी काम गर्न छोडेको रेडियो कलर फेरेर नयाँ जडान गर्ने निर्णय गरेको हो । गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा एकै परिवारका आमा(छोराको ज्यान लिएपछि ध्रुवेको गतिविधिप्रति निकुञ्ज प्रशासन थप चनाखो बनेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार, रेडियो कलर जडान भएपछि हात्ती बस्ती नजिक पुग्नासाथ तत्काल सूचना प्राप्त हुने र स्थानीयलाई समयमै सतर्क गराउन सहज हुनेछ । २०६६ सालदेखि मानिसलाई आक्रमण गर्न सुरु गरेको ध्रुवेले २०६९ सालताका त आतङ्क नै मच्चाएको थियो, जसका कारण तत्कालीन समयमा त्यसलाई मार्ने आदेशसमेत दिइएको थियो ।
पटक–पटक दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने गरिए पनि यो हात्तीको आक्रामक व्यवहारमा सुधार आउन सकेको छैन । हाल निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती रहे पनि ध्रुवेको सक्रियता र क्षतिले स्थानीयबासीलाई निरन्तर त्रसित तुल्याइरहेको छ ।



















