२४ असार, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार चौथो दिन पनि गिरावट जारी राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको गिरावट आएको छ, जससँगै सुनको मूल्य २ लाख ८७ हजार १ सय रुपैयाँमा झरेको छ ।
पछिल्लो चार दिनयता सुनको भाउ निरन्तर घट्दो क्रममा छ, हिजो मात्रै सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो । केही दिनअघि उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा देखिएको यो तीव्र गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैमा चासो बढाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज भारी गिरावट दर्ता भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजार विश्लेषकहरूका अनुसार, पछिल्लो समय मूल्यमा आएको उतारचढाव माघ महिनामा कायम भएको ऐतिहासिक उच्च विन्दुभन्दा निकै तल झरेको छ ।
गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेर कीर्तिमान कायम गरेको थियो । अहिलेको निरन्तरको गिरावटले बजारमा सुनको भाउ पुनः स्थिर हुने हो वा अझ घट्ने हो, त्यसप्रति बजार जानकारहरूले सूक्ष्म निगरानी गरिरहेका छन् ।



















