Logo

२४ असार,वीरगञ्ज । सरकारले निर्धारण गरेको चैते धानको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पर्साका किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। बजारमा बिचौलियाको प्रभाव बढ्दै जाँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।

बिरुवागुठीका एक किसानका अनुसार सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा तोकेको भए पनि किसानले बजारमा प्रतिक्विन्टल १ हजार ९०० देखि २ हजार रुपैयाँसम्म मात्रै मूल्य पाइरहेका छन्। समर्थन मूल्य र बजार मूल्यबीच ठूलो अन्तर हुँदा किसान प्रत्यक्ष आर्थिक मारमा परेको उनको भनाइ छ।

पर्सागढी नगरपालिका–३ का किसान आशिष अधिकारीले समर्थन मूल्य लागू हुन नसक्दा बिचौलियाले बढी फाइदा उठाइरहेको बताए। उत्पादन लागतसमेत नउठ्ने मूल्यमा धान बिक्री गर्न बाध्य भए पनि सरकारी निकायले समर्थन मूल्यअनुसार खरिदको व्यवस्था गर्न नसकेको उनको गुनासो छ।

किसानहरूले सरकारले समर्थन मूल्य घोषणा गरे पनि त्यसको कार्यान्वयन र अनुगमन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। समर्थन मूल्य कागजमै सीमित हुँदा किसानले बाध्य भएर कम मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ।

किसानहरूले धानको उचित मूल्य सुनिश्चित गर्न समर्थन मूल्यअनुसार सरकारी खरिद व्यवस्था गर्न, बजार अनुगमन प्रभावकारी बनाउन र किसानमैत्री नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

तत्काल आवश्यक व्यवस्था नगरिए धानखेतीप्रति किसानको आकर्षण घट्नुका साथै कृषि उत्पादनमा समेत नकारात्मक असर पर्न सक्ने उनीहरूले चेतावनी दिएका छन्।


सम्बन्धित समाचार