Logo

२४ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालमा एक्स–रे मेसिन र प्रयोगशाला (ल्याब) सेवा करिब एक वर्षदेखि बन्द रहेको अवस्थामा समेत त्यहाँ कार्यरत केही कर्मचारीले जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएको छ।

स्रोतका अनुसार अस्पतालको एक्स–रे र ल्याबमा कार्यरत राज कुशवाहा, राजु मण्डल, दिपक चौरसिया र सेराजुल अंसारीले जनही ८० हजार रुपैयाँका दरले जोखिम भत्ता बुझेका छन्।

अस्पतालमा एक्स–रे र ल्याब सेवा सञ्चालनमै नरहेको अवस्थामा जोखिम भत्ता वितरण गरिएको भन्दै स्थानीयस्तरमा आर्थिक अनियमितता र सार्वजनिक स्रोतको दुरुपयोग भएको आरोप लागेको छ। सेवा सञ्चालन नभएको अवस्थामा जोखिम भत्ता उपलब्ध गराइनु प्रचलित व्यवस्थाविपरीत भएको दाबी गर्दै सरोकारवालाले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

स्रोतका अनुसार कार्यालय प्रमुख र लेखा शाखाका जिम्मेवार अधिकारीको मिलेमतोमा कर्मचारीलाई उक्त भत्ता उपलब्ध गराइएको आशंका गरिएको छ। लामो समयदेखि सेवा बन्द रहे पनि जोखिम भत्ता वितरण गरिनुले अनियमितताको आशंका बढाएको स्थानीयको भनाइ छ।

स्थानीयवासी तथा सरोकारवालाले जोखिम भत्ता वितरणको आधार, रकम प्राप्त गर्ने कर्मचारीको विवरण र भुक्तानी प्रक्रियालाई सार्वजनिक गर्न माग गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न आग्रह गरेका छन्।

यस विषयमा एक्स–रे विभागमा कार्यरत कर्मचारी राजु मण्डलले आफूहरूले जोखिम भत्ता बुझेको स्वीकार गरेका छन्। उनले एक्स–रे सेवा चैत महिनाको अन्तिम सातादेखि मात्र बन्द भएको दाबी गरे।

मण्डलका अनुसार एक्स–रे मेसिन पूर्ण रूपमा बिग्रिएको नभई फिल्टर (Filter) बिग्रिएका कारण सेवा प्रभावित भएको हो। उनले सेवा बन्द भएको अवधिबारे भने अन्य दाबी गरेका छन्।


सम्बन्धित समाचार