२४ असार,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ५ः३० बजे वीरगञ्जबाट पथलैयातर्फ आउँदै गरेको म.प्र.०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–४ निवासी धनबहादुर श्रेष्ठका करिब ४० वर्षीय छोरा ईश्वर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्न भागमा चोट लागेको र प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो।
पछि थप उपचारका लागि नारायणी अस्पताल पुर्याइएका श्रेष्ठको चिकित्सकले ईसीजी परीक्षण गर्दा बिहान करिब ७ः३० बजे मृत्यु भएको घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान गर्नुका साथै दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जितपुरमा राखेको छ। मृतकको शव नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



















