Logo

२४ असार, काठमाडौं । मङ्गलबार सार्वजनिक भएको नयाँ मौद्रिक नीतिबाट बजारले ठूलो अपेक्षा राखेको भए पनि लगानीकर्ताहरू निराश हुँदा बुधबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ ।

मौद्रिक नीतिले बजारलाई अपेक्षित रूपमा टेवा पुर्‍याउन नसकेपछि नेप्से ३० दशमलव ०९ अङ्कले घटेर २ हजार ६२१ दशमलव ५९ विन्दुमा सीमित भएको छ । सोही क्रममा सेन्सेटिभ इण्डेक्स ३ दशमलव ९३ अङ्कले, फ्लोट इण्डेक्स २ दशमलव ०६ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४२ अङ्कले ओरालो लागेका छन् ।

परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । बुधबार ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ, जुन मङ्गलबारको ४ अर्ब ४० करोड रुपैयाँको तुलनामा बढी हो ।

बजारका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अन्य १२ वटै उपसमूहको परिसूचक घटेको छ । व्यक्तिगत कम्पनीहरूको सेयर मूल्यमा पनि उच्च उतारचढाव देखिएको छ, जहाँ केही कम्पनीको मूल्य ६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १३।४१ प्रतिशतले घटेको छ ।


सम्बन्धित समाचार