२४ असार,वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ घर भई हाल वीरगन्ज महानगरपालिका–२४ रामगढवामा डेरा गरी बस्दै आएका २१ वर्षीय राहुल बैठा र उनीसँगै बस्ने सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।
अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–२४ रामगढवास्थित बैठाको डेरा कोठामा छापा मार्दा ब्राउन सुगर ३ ग्राम ७२ मिलिग्राम र गाँजा एक पुरियासहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी लागूऔषधसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।



















