Logo

२४ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका विषयगत विभागहरू गठन नगर्ने नीतिगत निर्णय लिएको छ ।

केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने लामो समयको परम्परालाई तोड्दै कांग्रेसले अबदेखि विभागले गर्दै आएका सम्पूर्ण कार्यहरू उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ मार्फत सञ्चालन गर्ने भएको छ ।

पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पारित नयाँ विधानअनुसार विभागको व्यवस्था हटाइएको हो । पार्टीका सभापति गगन थापाका अनुसार, अब पार्टीले तय गर्ने विषयगत धारणाहरू र नीतिगत बहसहरू प्रतिष्ठानकै माध्यमबाट अघि बढाइनेछन् ।

यसका लागि प्रतिष्ठानले १२ वटा फरक(फरक विषयगत उपसमितिहरू गठन गरी संयोजकहरू समेत तोकिसकेको छ । प्रस्तावित नीतिगत तथा समसामयिक विषयहरूमा पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्न ‘ग्रीन टेबल’ नामक अन्तरसंवादहरू सञ्चालन भइरहेका छन् ।

भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, र सूचना प्रविधिजस्ता विविध क्षेत्रमा पार्टीको ठोस धारणा तय गर्न यी उपसमितिहरू क्रियाशील रहेका छन् । प्रतिष्ठानको ५१ सदस्यीय विधानको व्यवस्थाअनुसार हाल ४७ सदस्यीय समिति गठन गरिएको छ, जसमा मधु आचार्य उपप्रमुख र डा। सुरेश आचार्य निर्देशकका रूपमा रहेका छन् ।


सम्बन्धित समाचार