२६ असार, काठमाडौँ ।नेपालमा मनसुनी वायु सक्रिय भएसँगै आज देशभर भारी वर्षाको सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि अवस्थित रहेकाले देशभरि भारी वर्षाको अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै आज सातै प्रदेशमा भारी वर्षाको बलियो सम्भावना रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
मौसम विभागका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका पनि एक-दुई स्थानमा अति भारी वर्षाको पूर्वानुमान छ।
यस वर्ष ढिलो गरी वर्षा सुरु भएको मधेस प्रदेशसहित वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका समथर भू-भागमा समेत एक-दुई स्थानमा भारी वर्षा हुने देखिएकाले तराईमा डुबानको खतरा बढेको छ । आज दिउँसो र राति देशभरिको आकाश पूर्ण रूपमा बादलले ढाकिनेछ।
आज दिउँसो हिमाली र पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना छ।
यसैगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम झरी पर्नेछ। वर्षाका समयमा बज्रपात (चट्याङ) को जोखिम उच्च रहने भएकाले खुला चौर वा खेतबारीमा ननिस्कन मौसमविद्हरूले सुझाएका छन्।
राति झन् बढ्नेछ वर्षाको तीव्रता
विभागका अनुसार आज राति देशभरिको मौसम झन् प्रतिकूल बन्ने देखिन्छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका अधिकांश भू-भागमा मध्यराति मेघगर्जन र चट्याङसहित मुसलधारे पानी पर्नेछ।
पहाडी जिल्लाहरूमा धेरै भारी वर्षा हुँदा आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम निम्तिने र तराईका नदीहरूमा जलसतह बढेर कटान सुरु हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य टोलीहरूलाई ‘अलर्ट’ अवस्थामा राखेको छ । सिँचाइका लागि पानीको पर्खाइमा रहेका किसानलाई यो वर्षाले राहत दिए पनि तटीय क्षेत्रका बासिन्दाका लागि भने यो रात चुनौतीपूर्ण हुन सक्नेछ ।



















