Logo

२६ असार, चितवन । चितवनको राप्ती नगरपालिकाका छुट्टाछुट्टै स्थानमा गत असार १७ गते भएका दुई सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक मोटरसाइकल चालक र एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। दुवै घटनामा संलग्न सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

पहिलो घटनाअनुसार, २०८३ साल असार १७ गते चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी, झाँझर घर भई हाल राप्ती नगरपालिका–७, वीरेन्द्रनगरमा बस्दै आएका ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते भएका थिए ।

उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेकोमा २०८३ साल असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन्। उक्त घटनामा संलग्न कार चालक सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेर बहादुर हायुलाई इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

यस्तै, दोस्रो घटनामा २०८३ साल असार १७ गते चितवनको राप्ती नगरपालिका–८, खुरखुरेस्थित सडकमा बा.प्र. ०३–००१ ज ४७८ नम्बरको ईभी भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नाम, थर र वतन प्रारम्भमा नखुलेका अन्दाजी ३५ वर्षीय पैदलयात्री, भारतको बिहार राज्य सीतामढी घर भई हाल चितवनको खैरहनी नगरपालिका–६, पुरानो पर्सामा डेरा गरी बस्दै आएका अन्दाजी ३४ वर्षीय मोहम्मद बसु शेख गम्भीर घाइते भएका थिए ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेकोमा २०८३ साल असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न ईभी भ्यान चालक चितवनको राप्ती नगरपालिका–६, प्यारिढाप निवासी ३६ वर्षीय कृत्य बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै