Logo

२६ असार, चितवन। माडी क्षेत्रमा गएरातिदेखि परेको अविरल वर्षाले माडी–ठोरी हुलाकी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने अमुवा पोस्ट नजिकै ठोरीबाट माडीतर्फ आउँदै गरेको एउटा ट्रक हिलोमा फसेपछि सडक अवरुद्धभएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार माडी र आसपासका क्षेत्रमा पछिल्लो २४ घण्टामा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले जोखिम थप बढ्न सक्ने अनुमान गरिएको छ।

निरन्तरको वर्षासँगै निकुञ्जभित्रका रिउ खोला तथा अन्य सहायक खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। केही स्थानमा खोलाको पानी सडकमाथि बगेको छ भने कच्ची सडक हिलोले बिग्रिएकाले सवारी सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक किरण राईका अनुसार फसेको ट्रक निकाल्न जेसिबी घटनास्थलतर्फ पठाइएको छ। जेसिबी पुगेपछि उद्धार कार्य सुरु गरिने भए पनि निरन्तर वर्षाका कारण सडकको अवस्था चुनौतीपूर्ण रहेको उहाँले जानकारी दिनुभयो। पानीको बहाव कम भएपछि मात्र सडक सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

प्रहरीले माडी–ठोरी सडकखण्ड भएर तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्था असुरक्षित रहेकाले अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न तथा वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

ठोरीबाट माडी आउन लागेका यात्रुहरू समेत प्रभावित भएका छन् । माडी नगरपालिका–७ देवेन्द्रपुरका मिलन लामिछाने वीरगञ्ज हुँदै माडी आउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ठोरीतर्फबाट माडी आउने सवारीसमेत सञ्चालन हुन सकेको छैन ।

स्थानीयका अनुसार वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको छ। कच्ची सडक, खोलामा आउने बाढी र जंगली जनावरको जोखिमका कारण यो मार्ग वर्षायाममा निकै जोखिमपूर्ण बन्ने गरेको उनीहरूको भनाइ छ।

यद्यपि, लगातारको वर्षाले कृषिक्षेत्रमा भने सकारात्मक प्रभाव पारेको छ। पर्याप्त वर्षा भएपछि सिंचाइको अभाव झेलिरहेका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन्। असारदेखि साउनको मध्यसम्मलाई धान रोपाइँको मुख्य समय मानिने भएकाले माडी क्षेत्रमा यतिबेला खेतबारीमा चहलपहल बढेको छ।


सम्बन्धित समाचार