Logo

२६ असार, काठमाडौं । निजामती किताबखानाले ई–पेन्सन सेवाको विस्तार गरेसँगै अब सेवा निवृत्त कर्मचारीहरूले पेन्सनपट्टाका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि पेन्सनपट्टा बनाउन आवश्यक कागजातसहित काठमाडौंस्थित किताबखाना नै पुग्नुपर्ने झन्झटलाई चिर्दै किताबखानाले देशका विभिन्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत नै ‘फेसलेस’ सेवाको रूपमा ई–पेन्सन सुविधा उपलब्ध गराउन थालेको हो । यसै क्रममा, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी सुउलाला रोकायाले पहिलोपटक जिल्ला सदरमुकाम दुनैबाटै पेन्सनपट्टा प्राप्त गरेका छन्, जसले गर्दा उनको काठमाडौं आउजाउमा लाग्ने समय र खर्चको ठूलो बचत भएको छ ।

ई–पेन्सनको यस व्यवस्थाले निवृत्त कर्मचारीहरूलाई ठूलो राहत मिलेको छ । अब कर्मचारीहरूले आवश्यक कागजात अनलाइनमार्फत नै अपलोड गर्न सक्छन् र आफ्नो पेन्सनसम्बन्धी सम्पूर्ण विवरण डिजिटल प्रणालीबाटै हेर्न पाउनेछन् ।

सेवा निवृत्त भएपछि पाउने सुविधाहरू सोझै बैंक खातामा जम्मा हुने र पेन्सनपट्टाको विवरण समेत अनलाइनबाटै प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ। किताबखानाका अनुसार हालसम्म ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट र दार्चुला लगायतका दुर्गम जिल्लाहरूमा पनि यो सेवा विस्तार भइसकेको छ ।

यस सुविधाको प्रभावकारितालाई पुष्टि गर्दै हालसम्म ५ सय ६२ जना कर्मचारीले डिजिटल पेन्सनकार्ड प्राप्त गरिसकेका छन् । यसमा निवर्तमान मुख्यसचिव सुमनराज अर्याल, पूर्वसचिव कृष्णहरि पुस्कर र प्रमिलादेवी बज्राचार्य लगायतका उच्च अधिकारीहरूले समेत कार्यालयमै बसेर ई–पेन्सन लिई किताबखाना धाउनुपर्ने परम्परागत शैलीको अन्त्य गरेका छन् ।

महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार, अनलाइन फारम भर्न नसक्ने कर्मचारीहरूका लागि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयहरूले सहजीकरण गरिरहेका छन्, जसले गर्दा आगामी दिनमा पूर्ण डिजिटल पेन्सन प्रणाली कार्यान्वयनमा थप सहजता आउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार