Logo

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी निधन भएका मुगुका गणेश नेपालीको घटनालाई केवल राजनीतिक बहस वा आरोप–प्रत्यारोपको विषय बनाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो घटना एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र आम समाजको मानवीय संवेदनासँग जोडिएको अत्यन्तै दुःखद र संवेदनशील विषय भएको उल्लेख गरेका छन् ।

सभापति थापाले यस घटनाले समाज, राज्य र सम्पूर्ण नागरिकको सामूहिक चेतनालाई नै झस्काएको बताउँदै, ‘विगत वा वर्तमान कसको दोष’ भनी बहस गर्नुभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनको समग्र प्रक्रियासँग जोडेर सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

एउटा युवा किन यति ठूलो निराशाको बिन्दुमा पुग्छ र आफ्ना पीडा सुनाउन शरीरमा आगो लगाउनुपर्ने भयावह अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाउँदै उनले यस विषयमा गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।

साथै, उनले मृतक नेपालीको आश्रित परिवारलाई मलम लगाउन र उनीहरूको दुःखमा साथ दिन आ(आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेका छन् ।


सम्बन्धित समाचार