२६ असार, काठमाडौं । जलविद्युत् क्षेत्रको विकासमा देखिएका अवरोध र निजी क्षेत्रले भोग्दै आएका समस्याका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा उद्यमीहरूसँग करिब सवा घण्टा लामो घनिभूत छलफल गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रको वर्तमान अवस्था र समाधानका उपायबारे चासोपूर्वक संवाद गरेका हुन् ।
छलफलका क्रममा इप्पानले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर वर्षौंदेखि रोकिएका १६ हजार मेगावाट क्षमताका आयोजनाहरूको प्रक्रिया तत्काल सुचारु गर्न प्रधानमन्त्रीसमक्ष जोडदार माग राखेको छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको ब्यांकेबल पीपीए, प्रसारण लाइनको ढिलाइबाट लगानीकर्तालाई पर्ने क्षतिपूर्ति, स्टोरेज तथा पम्प स्टोरेज परियोजनाका लागि छुट्टै दर र औद्योगिक ग्राहकलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउनुपर्ने लगायतका ४७ बुँदे मागपत्र पेस गरेका थिए ।
ऊर्जा उद्यमीका समस्या र मागहरूलाई निकै गम्भीरता र कौतूहलका साथ सुनेका प्रधानमन्त्री शाहले ती विषयहरू प्राविधिक रूपमा जटिल रहेको र एकै भेटबाट समाधान गर्न कठिन रहेको प्रतिक्रिया दिएका छन् ।
यद्यपि, समस्याको दीगो समाधानका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले इप्पानलाई ती समस्याहरूको विस्तृत प्राविधिक विश्लेषण र समाधानसहितको ठोस दस्तावेज पेस गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको यस्तो व्यवहारलाई ऊर्जा क्षेत्रका लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन् र थप छलफलको प्रतीक्षा गरेका छन् ।


















