Logo

२६ असार, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ निकै भावुक मुद्रामा प्रस्तुत भएका छन् ।

गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारको कार्यशैली र भूमिकालाई लिएर सदनमा चर्को आलोचना भइरहेका बेला स्पष्टीकरण दिन रोस्ट्रममा पुगेका गृहमन्त्री गुरुङले आफूलाई सम्हाल्न सकेनन् । रोस्ट्रममा उभिएका उनले केही बोल्ने प्रयास गरे पनि आँखाभरि आँसु पार्दै भावुक भएपछि उनी कुनै सम्बोधन नगरी आफ्नो स्थानमा फर्किएका थिए ।

यद्यपि, केही समयपछि पुनः मुखरित हुँदै गृहमन्त्री गुरुङले आफूमाथि लागेको ‘स्टन्टबाजी’ को आरोपको कडा प्रतिवाद गरे । उनले आफू जनताको सेवा गर्न आएको बताउँदै सदनमा केवल घाँटी चिच्याएर वा चर्को स्वरमा बोलेर मात्र सेवा नहुने जिकिर गरे ।

‘मुखले सेवा गर्छु भनेर बोलेको ५० औँ वर्ष भइसक्यो, अब हातले काम गरेर देखाउनुपर्छ,’ उनले भने। आफूले फिल्डमै गएर जनताको सेवा गर्ने गरेको र त्यसलाई कतिपयले ‘स्टन्टबाजी’ को संज्ञा दिने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

गृहमन्त्री गुरुङले सांसदहरूलाई लक्षित गर्दै प्रश्न गरे, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरूमध्ये कति जना हुनुहुन्थ्यो? जो यहाँ अहिले घाँटी चिच्याएर कराउनुभएको छ’ ।

आफू टिम बनाएर कसरी जनतालाई राहत दिन सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक लागिपरेको बताउँदै उनले कसैका लागि स्टन्टबाजी गर्ने आफ्नो कुनै इच्छा नभएको स्पष्ट पारे । सदनमा देखिएको उनको भावुकता र त्यसपछिको आक्रामक अभिव्यक्तिले उपस्थित सबैलाई स्तब्ध बनाएको थियो ।


सम्बन्धित समाचार