Logo

२६ असार, काठमाडौं । दक्षिणपूर्व एसियाली मुलुकहरूमा अनलाइन स्क्यामिङको फन्दामा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडिया, म्यानमार, लावस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न स्क्यामिङ सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ७०९ जना, म्यानमारबाट ११३ जना, लावसबाट ८ जना र थाइल्यान्डबाट ६ जना रहेका छन् ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मन्त्रालयले निरन्तर समन्वय र कूटनीतिक पहल जारी राखेको छ । विशेषगरी, कम्बोडियामा भिसा अवधि समाप्त भएर पनि बसिरहेका नेपालीहरूको शुल्क र जरिवाना मिनाहाका लागि दूतावासमार्फत पहल भइरहेको छ । प्रवक्ता पौडेलका अनुसार, चालु आर्थिक वर्षमा मात्रै कम्बोडिया सरकारले ६०२ जना नेपालीको भिसा शुल्क मिनाहा गरिदिएको छ ।

यसैगरी, मन्त्रालयले राहदानी सेवालाई थप सहज र प्रविधिमैत्री बनाउने योजना पनि सार्वजनिक गरेको छ । अब नागरिकहरूले आफू बसोबास गरिरहेको स्थान नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाटै राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्थाका लागि प्रक्रिया अघि बढेको छ ।

साथै, राहदानी छिटो–छरितो रूपमा सम्बन्धित जिल्लामा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको र आर्थिक कूटनीतिलाई थप सघन बनाउन २० वटा मुलुकका लागि छुट्टाछुट्टै रणनीति तयार गरिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार