Logo

२६ असार,वीरगञ्ज ।  सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार शुक्रबार गौडेता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

‘उहाँले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउनुभएको हो। उहाँको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाइएको छ,’ एसपी पौडेलले बताए।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुलेको छैन। अहिले घाइतेको उपचारलाई प्राथमिकतामा राखिएको र त्यसपछि घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

घाइते मण्डललाई काठमाडौं लैजान हेलिकोप्टरको व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहसँग समन्वय गरेको जनाएको छ। सांसद सिंहले उपचारका लागि हेलिकोप्टर पठाउने व्यवस्था भइरहेको जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार