Logo

२७ असार,काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको निधन भए पनि उनका बुबाआमालाई अहिलेसम्म मृत्युको खबर सुनाइएको छैन। छोराको स्वास्थ्य अवस्थाबारे अधुरो जानकारी पाएपछि उनीहरू मुगुबाट काठमाडौँ आइपुगेका छन् र अहिले वीर अस्पतालमा छोराको उपचार भइरहेको विश्वासमा प्रतीक्षारत छन्।

गणेशका दाजु मदन नेपालीका अनुसार बुबाआमाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मृत्युको खबर तत्काल नदिइएको हो।

उनका अनुसार ६२ वर्षीय बुबाको स्वास्थ्य कमजोर रहेको छ। गणेश जलेको खबर सुन्नासाथ बुबा बेहोस भएकाले अहिले मृत्युको खबर सुनाउँदा थप स्वास्थ्य समस्या आउन सक्ने चिन्ताले परिवारले सत्य जानकारी दिन सकेको छैन।

परिवारलाई गणेशको शरीरको धेरै भाग जलेको र वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको जानकारी दिइएको छ। तर, गणेशको शव भने मंगलबार राति नै वीर अस्पतालबाट महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको जनाइएको छ। यसबारे परिवारलाई औपचारिक जानकारी दिइएको छैन।

गणेशका बुबाआमालाई सरकारले नै मुगुबाट हवाईमार्ग हुँदै काठमाडौँ ल्याएको थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि उनीहरूलाई भेट्न वीर अस्पताल पुगेका थिए। अस्पताल प्रशासन र सरकारी निकायसँग आवश्यक समन्वय तथा संवाद गणेशका दाजु मदन नेपालीले गरिरहेका छन् भने बुबाआमालाई ती छलफलमा सहभागी नगराइएको उनले बताए।

मदन नेपालीका अनुसार परिवारले अहिलेसम्म शव बुझेको छैन। शव कहाँ राखिएको छ भन्नेबारे पनि आफूहरूलाई औपचारिक जानकारी नदिइएको र सरकारी पक्षसँग यस विषयमा औपचारिक वार्ता समेत सुरु नभएको उनले बताए।


सम्बन्धित समाचार