Logo

२७ असार,काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार ५० वर्षीय अश्विनकुमार राउतले आत्मदाहको प्रयास गरेका छन् । नदी किनारामा प्रयोग हुने तार जाली (ग्याभिन) उत्पादन गर्ने ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र चीनबाट होम एप्लायन्स (फ्रीज, पंखा) आयात गर्ने ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ सञ्चालन गर्दै आएका राउत लामो समयदेखि व्यवसाय धराशायी भएपछि तनावमा थिए ।

सिराहाको लाहान स्थायी ठेगाना भई हाल बुद्धनगरस्थित बुद्ध विहार छेउमा बस्दै आएका राउत सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन् । समाजका सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपेर उनले आत्मदाहको प्रयास गरेका थिए । केही समयअघि मात्र उनी भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका थिए ।

व्यवसायमा गम्भीर संकट आएपछि राउतले ललितपुरको भैंसेपाटीमा रहेको आफ्नो जग्गा बिक्री गरेर समस्या सल्ट्याउन खोजेका थिए । तर, विभिन्न कारणले लामो समयसम्म जग्गा बिक्री नभएपछि उनी थप मानसिक तनावमा परेको पारिवारिक स्रोतले जनाएको छ ।

यता प्रहरीले भने छोरासँगको विवादका कारण राउतले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुमान गरेको छ । तर, पारिवारिक स्रोतले भने छोरा झगडालु स्वभावको नभएको र घटनाको मुख्य कारण व्यावसायिक संकट नै रहेको दाबी गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


सम्बन्धित समाचार