२७ असार,काठमाडौं । अमेरिका र इरानबीच शनिबार प्रस्तावित वार्ताअघि अमेरिकाले इरानसँग होर्मुज स्ट्रेट खुला राख्ने विषयमा सार्वजनिक प्रतिबद्धता जनाउन आग्रह गरेको छ।
अमेरिकी प्रशासनले इरानले आधिकारिक रूपमा होर्मुज स्ट्रेट अन्तर्राष्ट्रिय व्यापारिक जहाजका लागि खुला रहेको घोषणा गर्नुपर्ने र भविष्यमा कमर्सियल जहाजहरूमा गोलीबारी नगर्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गर्नुपर्ने माग गरेको छ।
सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसले इरानले व्यापारिक जहाजहरूमा भएको गोलीबारी गल्ती थियो भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने धारणा राखेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँगको निजी छलफलमा जहाजहरूमा गोलीबारी हुनु गल्ती भएको स्वीकार गरेको दाबी गरेका छन्।
यद्यपि इरानले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एउटा कट्टरपन्थी विद्रोही समूहलाई दिएको छ। इरानका अनुसार उक्त समूहले अमेरिका–इरानबीच जारी वार्ता विफल बनाउने उद्देश्यले व्यापारिक जहाजहरूलाई लक्षित गरेको थियो।
यसअघि जुन महिनामा अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा इरानले कमर्सियल जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।
सीबीएस न्यूजका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानले वार्ता पुनः अघि बढाउने इच्छा व्यक्त गरेको जानकारी दिएका छन्। उनीहरूका अनुसार इरानले घटनाप्रति खेद व्यक्त गर्दै वार्ता निरन्तर जारी राख्न आग्रह गरेको छ।



















