Logo

२७ असार,काठमाडौं ।  काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेको छ। बाढीका कारण सेन्टरमा आश्रय लिइरहेका ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने भएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बाढीको जोखिम बढेपछि प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो।

‘खरीपाटीस्थित होल्डिङ सेन्टरमा आवश्यक ठाउँ खाली गराइसकेका छौँ। कीर्तिपुरका प्रभावित परिवारलाई त्यहीँ स्थानान्तरण गरी आवश्यक व्यवस्थापन गरिनेछ,’ महर्जनले बताए।

समितिले यसअघि नै होल्डिङ सेन्टर खाली गर्न आग्रह गर्दै पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। साथै, आफ्नो व्यवस्थापन आफैँ गर्न सक्ने परिवारलाई घरभाडामा बस्न र असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सरकारी व्यवस्थापनमा सुरक्षित स्थानमा राख्ने योजना पनि बनाइएको थियो।

तर अधिकांश परिवारले सेन्टर छोड्न हिचकिचाएपछि स्थानान्तरण प्रक्रिया अघि बढ्न सकेको थिएन। ‘हामीले केही दिनअघिदेखि नै सुरक्षित स्थानमा सर्न आग्रह गरिरहेका थियौँ। तर उहाँहरू तत्काल सर्न तयार नहुँदा प्रक्रिया केही ढिलो भएको हो,’ महर्जनले भने।

अविरल वर्षापछि बाढी सेन्टरभित्रै पसेर जोखिम बढेपछि समितिले सबै प्रभावित परिवारलाई तत्काल खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार