२७ असार,वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ।
वीरगञ्जस्थित होटल भिस्वामा आयोजित ‘SEE 2082 Excellence Honor Award’ कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई खादा, टीका र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको मेहनत, अनुशासन र शैक्षिक सफलताको प्रशंसा गर्दै अतिथिहरूले उनीहरूको उपलब्धिले विद्यालय, अभिभावक र समुदायको गौरव बढाएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको विश्वास अझ बलियो बनाएको बताए। उनले सम्मान कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा दिने र आगामी पुस्तालाई पनि उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्य रहेको उल्लेख गरे।
उनले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको संयुक्त प्रयासको परिणाम भएको बताउँदै नेशनल प्याब्सन पर्साले गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि कार्यवाहक मेयर इम्तियाज आलमले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा समृद्ध समाज निर्माणको आधार भएको बताए। उनले विद्यार्थीलाई भविष्यमा पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै वीरगञ्जको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा सम्मानित विद्यार्थी, शिक्षक र अभिभावकहरूले यस्तो सम्मानले आफूहरूलाई थप उत्साहित र जिम्मेवार बनाएको प्रतिक्रिया दिएका थिए। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



















