२८ असार, काठमाडौं । कतारका पूर्वराजा (फादर अमिर) शेख हमाद बिन खलिफा अल थानीको निधन भएको छ ।
उनको ७४ वर्षको उमेरमा निधन भएको हो । कतारको राजदरबारले एक विज्ञप्ति जारी गर्दै अल थानीको निधन भएको पुष्टि गरेको छ ।
अल थानीको मृत्युपछि कतारले सोमबारबाट लागू हुने गरी चार दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।
यस अवधिमा सरकारी निकाय र सार्वजनिक संस्थानहरुलाई बिदा दिइनेछ भने राष्ट्रिय झण्डालाई आधा झुकाइनेछ । शेख हमादले सन् १९९५ देखि २०१३ सम्म कतारको सत्ता सम्हालेका थिए ।
उनलाई आधुनिक कतारको विकासको सुत्राधार मानिन्छ । उनको शासनकालमा कतारले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा ठूलो प्रगति गरेको थियो ।
सन् २००४ मा कतारको पहिलो स्थायी संविधानको घोषणादेखि स्थानीय चुनावमा महिलालाई मतदान गर्ने तथा उम्मेदवार बन्न पाउने अधिकारको सुनिश्चिता उनकै शासनकालमा भएको थियो ।
विश्वचर्चित न्युज च्यानल अल जजिराको सुरुवात गरेको श्रेय पनि शेख हमादलाई नै जान्छ । उनकै कार्यकालमा सन् १९९६ मा अल जजिराको सुरुवात भएको थियो ।
सन् २०१३ मा उनले स्वेच्छाले सत्ता त्यागेका थिए । उनले आफ्ना छोरा शोख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए । यहीकारण उनलाई फादर अमिर भन्न थालियो । यसको अर्थ ‘राष्ट्र पिता’ हो ।



















