२८ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्रीले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्।
गृहमन्त्री गुरुङसँगै भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गरेका हुन्।
सोही क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारेकी छन् ।
हचुवाको भरमा लालपूर्जा बाँड्दा भोलि कानुनी झमेला आउन सक्ने भन्दै उनले आगामी पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताइन् । मन्त्री रावलले भावुकतामा आएर हतारमा लालपूर्जा बाँड्दा भोलि अदालतमा मुद्दा पर्न सक्ने र गरिबको लालपूर्जा खोसिन सक्ने खतरा दाबी गरेकी छिन् ।
‘म इमोसनल भएर आजै लालपूर्जा दिउँला, तर भोलि कसैले मुद्दा हालिदियो भने त्यो खोसिन सक्छ,’ उनले भनिन्, ‘त्यसैले नागरिकता लगायतका आवश्यक कागजात र विवरणहरू पूरा गर्नुपर्छ । यो तपाईँहरूलाई नै सुरक्षित गर्नका लागि हो ।’
कतिपयको नागरिकता नभएको समस्यालाई सम्बोधन गर्न सरकारी टोली नै सम्बन्धित ठाउँमा पुगेर विवरण संकलन गर्ने र प्रक्रिया मिलाउने उन प्रतिबद्धता छ ।
लालपूर्जा वितरणका लागि सुकुम्वासीको पहिचान मात्र नभई जग्गाको समेत पहिचान गर्नुपर्ने भएकाले यो विषय केही जटिल र संवेदनशील रहेको उनले उल्लेख गरिन् ।
‘म एक हप्तामै दिन्छु त भन्दिनँ, तर जति सक्दो चाँडो वास्तविक सुकुम्वासीले लालपूर्जा पाउने कुरामा म प्रतिबद्ध छु,’ उनले भनिन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर शनिबार डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिपाटीमा लगेर स्थनान्तरण गरिएको छ।



















