Logo

२८ असार, काठमाडौं । काठमाडौँमा घटेको एक दुःखद घटनामा ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकार पक्षबीच ९ बुँदे सहमति भएको छ ।

सहमति अनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ, जसले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ ।

छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतको अभ्यासका आधारमा मृतक नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ भने घटनाको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्र पठाउने निर्णय भएको छ ।

यसैगरी, सहमतिमा पीडित परिवारको आर्थिक र सामाजिक सुरक्षालाई विशेष जोड दिइएको छ । काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतककी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ भने छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च महानगरले बेहोर्नेछ ।

आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, मृतकको अन्तिम संस्कार ९सद्गत० तथा काठमाडौँमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन र खर्च महानगरपालिकाले नै बेहोर्ने सहमति भएको छ ।

काजक्रिया अवधिभर परिवारका सदस्यहरूको आतेजाते र बसोबास खर्च महानगरले बेहोर्ने तथा पीडित परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मिलाउने सहमति पत्रमा उल्लेख छ ।

यसैबीच, पीडित परिवार तथा आफन्तजनले शव बुझिलिने र पोष्टमार्टम लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्दै सद्गत गर्ने जिम्मा लिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै