Logo

२९ असार, काठमाडौँ । नेपाली वाङ्मयका ज्योतिपुञ्ज एवं नेपाली भाषालाई भावनात्मक एकताको सूत्रमा बाँध्ने आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुम्दी रम्घास्थित एक सम्भ्रान्त ब्राह्मण परिवारमा जन्मिएका आचार्यको सम्झनामा नेपाल, भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्य रहेका विश्वका विभिन्न मुलुकहरूमा आज भानु जयन्ती मनाइँदै छ ।

उति बेला ‘खस’ भाषाका रूपमा सामान्य मौखिक अभिव्यक्तिमा मात्र सीमित रहेको भाषालाई लिपिबद्ध गरी भानुभक्तले नेपाली भाषा र शब्दको नयाँ मानचित्र कोरेका थिए । तत्कालीन समयमा औपचारिक साहित्य र कविताहरू संस्कृत भाषामा मात्र सीमित रहँदा सर्वसाधारणका लागि साहित्य बुझ्न कठिन थियो । यस्तो अवस्थामा भानुभक्तले सम्पूर्ण ‘रामायण’ लाई संस्कृतबाट सरल नेपालीमा भावानुवाद गरी ज्ञान र अध्ययनलाई आम नेपालीको पहुँचमा पुर्‍याएका थिए ।

आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।

भानुभक्तको साहित्यिक यात्रामा एक सामान्य घाँसीको प्रेरणा अनौठो र ऐतिहासिक मानिन्छ। दरिद्र परिवारका घाँसीले घाँस काटेर जम्मा गरेको पैसाले समाजका लागि कुवा खनाएको देखेपछि धनी परिवारका भानुभक्तलाई आफू समाजप्रति उदासीन रहेकोमा आत्मग्लानि भएको थियो । सोही बोधपछि उनले प्रसिद्ध ‘घाँसी’ कविता रचना गरे, जसमा उनले लेखेका छन् :

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो…

भानुभक्तले अनुवाद गरेको रामायण केवल अनुवाद मात्र नभई नेपाली माटोको सुगन्ध, छन्द र भावको अनुपम दोभान हो । रामायणका बालकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड र युद्धकाण्ड जस्ता कथाहरूले नेपाली समाजलाई नैतिक र चारित्रिक शिक्षा मात्र दिएनन्, गाउँघरमा एकै ठाउँमा जमघट भई रामायण वाचन गर्ने एउटा मौलिक संस्कृति नै स्थापित गरिदियो । आजको नेपाली लोकगीत र विवाह, व्रतबन्धमा खेलिने सिलोक (दोहोरी) को उद्गम बिन्दु पनि भानुभक्तकै रामायणको लय भएको मानिन्छ ।

भानुभक्तलाई नेपाली साहित्यको शिखरमा पुर्‍याउन युगकवि मोतीराम भट्टको योगदान अतुलनीय छ। भारतमा अध्ययन गरेका र उर्दू तथा फारसी भाषामा विशेष दखल भएका मोतीरामले वि.सं. १९४१ मा लामो अन्वेषण गरी भानुभक्तको ‘जीवन चरित्र’ प्रकाशन गरेपछि मात्र आदिकविका बहुआयामिक रचनाहरू जनमानसमा आएका थिए ।

कतिपय आलोचकहरूले भानुभक्तलाई केवल ‘अनुवादक’ को बिल्ला लगाउने प्रयास गरे पनि छन्द र भावको बढोत्तरी गर्दै शताब्दीसम्म जनजिब्रोमा बस्ने उखान र भनाइहरू दिएर जानु नै उनको आदिकविको प्रमाण हो । भानुभक्तको यसै ऐतिहासिक योगदानको व्याख्या भारतीय इन्साइक्लोपेडियामा समेत खुलेर गरिएको छ ।

छतौरे प्रेमकथा र सतही कुण्ठाहरूको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषित गर्न खोज्ने आजको आधुनिक समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी रहेको साहित्यकारहरू बताउँछन् । शेक्सपियरका कविता र अङ्ग्रेजी गीत कण्ठस्थ पार्ने आजको नयाँ पुस्ताले आफ्नो मूल भाषा र पहिचानलाई बिर्सन नहुने बहस फेरि सुरु भएको  छ।

नेपालीले पहिले ‘आमा’ बुझेर मात्र ‘मदर’ बुझ्ने र पहिले ‘गाई’ बुझेर मात्र ‘काउ’ को अर्थ पहिल्याउने हुनाले आफ्नै लवज र पहिचानका आधार भानुभक्त हुन् भन्ने बुझ्न आवश्यक छ । कतै करले त कतै परम्परा धान्नका लागि मात्र भानु जयन्ती मनाउने आजको प्रवृत्तिको सट्टा नेपाली भाषाको गहन अध्ययन, अनुसन्धान र विकास गर्नु नै कालो टोपीधारी आदिकवि भानुभक्तप्रतिको सच्चा श्रद्धासुमन हुनेछ ।


सम्बन्धित समाचार
भर्खरै