Logo

३१असार,वीरगञ्ज । टिकट शुल्कको विषयलाई लिएर मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र जानकी मन्दिर व्यवस्थापनबीच विवाद चर्किएपछि जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डप तथा विद्युतीय संग्रहालयमा पहिलोपटक तालाबन्दी गरिएको छ।

माता सीताको जन्मदेखि विवाहसम्मको जीवनचरित्र प्रस्तुत गरिएको विद्युतीय संग्रहालय तथा ऐतिहासिक विवाह मण्डप शुक्रबारदेखि बन्द गरिएपछि दर्शन तथा अवलोकनका लागि आएका स्वदेशी तथा विदेशी श्रद्धालु र पर्यटक प्रभावित भएका छन्।

विवादको सुरुआत विवाह मण्डप र संग्रहालय प्रवेशका लागि लिइँदै आएको टिकट शुल्कबाट भएको हो। मन्त्री महतोले सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क लिनु अनुचित भएको भन्दै टिकट बिक्री गरिरहेका कर्मचारीबाट टिकट नियन्त्रणमा लिएपछि मन्दिर व्यवस्थापनले विरोधस्वरूप दुवै संरचनामा तालाबन्दी गरेको जनाएको छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्त्री महतोले कुनै पूर्वसमन्वय वा औपचारिक प्रक्रिया नअपनाई टिकट खोसेको आरोप लगाए। उनका अनुसार मन्दिरको पूजा–पाठ, सरसफाइ, संरक्षण तथा दैनिक व्यवस्थापन खर्च जुटाउन विवाह मण्डप र संग्रहालय सञ्चालनको जिम्मा प्रत्येक वर्ष ठेक्कामार्फत दिइँदै आएको छ।

महन्थ वैष्णवका अनुसार संग्रहालय प्रवेशका लागि १५ रुपैयाँ र विवाह मण्डपका लागि १० रुपैयाँ शुल्क लामो समयदेखि लिइँदै आएको छ। उनले संघ, प्रदेश वा स्थानीय सरकारबाट मन्दिर सञ्चालनका लागि कुनै आर्थिक सहयोग नपाएको दाबी गर्दै आवश्यक परे आय–व्ययको विवरण कार्यालयमै माग्न सकिने बताए।

यता गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले भने जानकी मन्दिर सार्वजनिक धार्मिक सम्पदा भएकाले श्रद्धालुसँग प्रवेश शुल्क उठाउनु उचित नभएको बताए। उनले पटक–पटक शुल्क हटाउन आग्रह गर्दा पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि टिकट नियन्त्रणमा लिनुपरेको प्रतिक्रिया दिए।

मन्त्री महतोले मन्दिरले पूजा व्यवस्थापनका नाममा कसको स्वीकृतिमा ठेक्का दिएको र हालसम्म आय–व्यय सार्वजनिक नगरेकाबारे पनि प्रश्न उठाएका छन्।

भारत सरकारको आर्थिक सहयोगमा करिब एक दशकअघि निर्माण गरिएको विद्युतीय संग्रहालयमा आधुनिक प्रविधिमार्फत माता सीताको जन्मदेखि विवाहसम्मका प्रसंग प्रस्तुत गरिएको छ। जनकपुर आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रमुख आकर्षणमध्ये एक मानिन्छ।

यस्तै, विवाह मण्डपको निर्माण वि.सं. २०२६ सालमा सुरु भई वि.सं. २०४२ साल पुस १८ गते तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवबाट उद्घाटन गरिएको थियो। धार्मिक विश्वासअनुसार भगवान राम र माता सीताको विवाह यही स्थानमा सम्पन्न भएको मानिन्छ। हरेक वर्ष विवाह पञ्चमीका अवसरमा यही मण्डपमा मुख्य विवाह महोत्सव आयोजना हुने गर्दछ, जहाँ नेपाल र भारतसहित विभिन्न देशबाट लाखौं श्रद्धालु सहभागी हुने गर्छन्।

धार्मिक तथा ऐतिहासिक महत्वका यी संरचनामा पहिलोपटक तालाबन्दी भएपछि जनकपुरधामको धार्मिक पर्यटन र श्रद्धालुको आवागमनमा समेत असर पर्ने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै