३२ असार,वीरगञ्ज । मिटरब्याजविरुद्ध आन्दोलनरत पीडित र गृहमन्त्री रमेश लेखकबीच बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहीबार) दिउँसो १२ बजे तेस्रो चरणको वार्ता हुने भएको छ।
मंगलबार र बुधबार करिब पाँच–पाँच घण्टा चलेको पहिलो तथा दोस्रो चरणको वार्तापछि आजको छलफललाई दुवै पक्षले निर्णायक रूपमा लिएका छन्। यसअघि भएका वार्तामा आन्दोलनकारीका माग तथा सरकारले गर्न सक्ने पहलका विषयमा विस्तृत छलफल भएको थियो।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले असार २५ गते जनकपुरस्थित तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित ‘पैदल मार्च’ सुरु गरेका हुन्। विभिन्न जिल्लाबाट आएका पीडितहरूले मिटरब्याजका कारण आफूहरू अन्यायमा परेको भन्दै कानुनी तथा नीतिगत सुधारको माग गर्दै आन्दोलन जारी राखेका छन्।
आन्दोलनकारीहरूले फर्जी लिखत खारेज, मिटरब्याज नियन्त्रणका लागि प्रभावकारी विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्रीसमक्ष पेश गरेका छन्।
आजको वार्ताबाट आन्दोलनका माग सम्बोधन हुने वा आन्दोलनले नयाँ मोड लिने भन्ने विषयमा चासो बढेको छ।



















