३२ असार,वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ।
समर्पित अनुदान संयन्त्र (डिजिएम) नेपालको वित्तीय सहयोगमा सञ्चालन हुने उक्त फेलोसिप कार्यक्रम वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञानसँग सम्बन्धित विषयमा खोजमूलक पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो।
फोनिजका अनुसार डिजिएम नेपाल परियोजना लागू भएका क्षेत्रका आदिवासी जनजाति समुदायका पत्रकारहरूले फेलोसिपका लागि आवेदन दिन सक्नेछन्। इच्छुक पत्रकारले तोकिएका विषयमध्ये कुनै एकमा न्यूनतम २५० शब्दको मौलिक अवधारणा (प्रपोजल) सहित आवश्यक कागजात पेस गर्नुपर्नेछ।
फेलोसिपमा छनोट हुने पत्रकारलाई अध्ययन, स्थलगत भ्रमण, खोज तथा अनुसन्धानमूलक समाचार, फिचर स्टोरी वा विशेष रिपोर्ट तयार गर्न अधिकतम ४० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइने जनाएको छ।
फेलोसिपअन्तर्गत तयार गरिने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्नेछ। सहभागीले कम्तीमा तीन हजार शब्दको लेख तथा भिडियो सामग्री २१ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान), कार्यरत सञ्चार संस्थाको परिचयपत्र वा सिफारिसपत्र तथा व्यक्तिगत विवरण (सीभी) अनिवार्य रूपमा संलग्न गर्नुपर्ने फोनिजले जनाएको छ।
फोनिजका महासचिव समिर बलामीका अनुसार आवेदन दिने अन्तिम म्याद २०८३ साल साउन ३२ गतेसम्म तोकिएको छ। इच्छुक पत्रकारहरूले फोनिजको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
डिजिएम नेपालकी साधना लिम्बुले स्थानीय तथा आदिवासी पत्रकारलाई लक्षित यस कार्यक्रमले वन, वातावरण र जलवायु परिवर्तनका विषयमा गुणस्तरीय समाचार उत्पादनका साथै स्थानीय समुदायसम्म सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन्।



















