३२ असार,वीरगञ्ज । पर्सामा धान रोप्ने क्रममा चट्याङ लागेर सात जना महिला किसान घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रको खेतमा रोपाइँ गरिरहेका बेला वर्षासँगै परेको चट्याङले उनीहरू घाइते भएका हुन्।
चट्याङ लागेर घाइते हुनेमा पकहामैनपुर गाउँपालिका–१ निवासी करिब ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अन्य छ जना घाइतेलाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल लगिएको छ। उपचाररत घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।



















