Logo

३२ असार,वीरगञ्ज । सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।

मिटरब्याज पीडितहरू असार २५ गते जनकपुरधामबाट काठमाडौं केन्द्रित ‘पैदल न्याय मार्च’ सुरु गरेपछि सरकारसँग निरन्तर वार्ता भइरहेको छ। हालसम्म बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ।

तर आन्दोलनकारीले अघि सारेका छ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको भनिएको छ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान राख्दै आएको छ।

लिखित सहमति नभएसम्म पैदल न्याय मार्च जारी रहने र आवश्यक परे काठमाडौं केन्द्रित यात्रा पुनः अघि बढाउने चेतावनी आन्दोलन पक्षले दिएको छ।

आगामी चरणका वार्तामा यही औपचारिक वार्ता टोलीले मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्ने आन्दोलनले जनाएको छ।


सम्बन्धित समाचार