Logo

३२ असार,वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ। संघीय तहमा कांग्रेस–एमाले गठबन्धनमा देखिएको फेरबदलको सम्भावनाको प्रभाव मधेश प्रदेश सरकारमा तत्काल नपर्ने सत्तारुढ दलका नेताहरूले दाबी गरेका छन्।

मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको सरकार सञ्चालन भइरहेको छ।

कांग्रेसको पछिल्लो निर्देशनपछि अन्य प्रदेशमा राजनीतिक हलचल देखिए पनि मधेश प्रदेशमा भने तीन दलका नेताहरूबीच सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्रीसमेत रहेका युवराज भट्टराईबीच सरकारको निरन्तरताबारे छलफल भएको हो।

गत जेठ १२ गते सरकार विस्तारअघि तीन दलबीच निर्वाचनसम्मै गठबन्धन कायम राख्ने लगायतका १५ बुँदे सहमति भएको थियो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश तहमा तीन दलबीच कुनै समस्या नरहेको भन्दै सरकारबाट बाहिरिने अवस्था नरहेको बताए। उनले संघीय तहमा हुने राजनीतिक घटनाक्रमलाई प्रदेशमा सोही रूपमा लागू गर्नुपर्ने आवश्यकता नरहेको धारणा राखे।

“प्रदेशगत तहमा तीन दलबीच कुनै समस्या छैन। विगतमा पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारको अभ्यास भइसकेको छ,” यादवले भने, “यो गठबन्धन चुनावसम्म जाने सहमति भएको छ।”

यस्तै, अर्थमन्त्री युवराज भट्टराईले तीन दलको बैठकमा बजेट सर्वसम्मत रूपमा पारित भएको र सरकारलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको बताए।

“मधेश प्रदेश सरकार विशिष्ट परिस्थितिमा बनेको हो। अन्य प्रदेशको राजनीतिक अवस्थाले यसलाई असर गर्दैन,” उनले बताए।

गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए।


सम्बन्धित समाचार