१ साउन,काठमाडौं । कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदैद एयर बेस’ लाई लक्षित गरी शुक्रबार बिहान करिब ३:३० बजे दुई चरणमा इरानी मिसाइल आक्रमण भएको छ। कतारको रक्षा मन्त्रालयका अनुसार त्यहाँ तैनाथ वायु प्रतिरक्षा प्रणाली तत्काल सक्रिय भई अधिकांश मिसाइलहरूलाई बीचमै अवरोध गर्न सफल भएको थियो।
आक्रमणपछि कतारी गृह मन्त्रालयले देशभर सुरक्षा सतर्कता उच्च बनाउँदै केही समयका लागि नागरिक तथा बासिन्दालाई घरभित्रै सुरक्षित रूपमा बस्न विशेष आग्रह गरेको थियो। प्रारम्भिक मूल्याङ्कन अनुसार अवरोध गरिएका क्षेप्यास्त्रका भग्नावशेष आकाशबाट खस्दा एक बालबालिका घाइते भएको मन्त्रालयले जनाएको छ। घाइते बालकको उपचार भइरहेको बताइएको छ।
गृह मन्त्रालयले आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा फैलिन सक्ने हल्ला, पुष्टि नभएका तस्बिर वा भिडियो सामग्री साझा नगर्न चेतावनी दिएको छ। यस्ता भ्रामक सामग्री प्रसारण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार सुरक्षा निकायहरू चौबीसै घण्टा उच्च सतर्कतामा परिचालित छन्। जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न, आकस्मिक अवस्थाको तत्काल सामना गर्न तथा सार्वजनिक सेवा अविच्छिन्न रूपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र सक्रिय रहेको पनि स्पष्ट पारिएको छ।
अल उदैद एयर बेस अमेरिकाको मध्यपूर्व क्षेत्रको सबैभन्दा ठूलो सैन्य अड्डामध्ये एक मानिन्छ, जहाँ अमेरिकी सेनाका हजारौं सैनिक तथा रणनीतिक सैन्य संरचना तैनाथ छन्। घटनापछि क्षेत्रीय सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।


















