१ साउन, वीरगञ्ज । तीन दिनदेखि विद्युतविहीन बनेको वीरगञ्ज महानगरपालिकामा अन्ततः शुक्रबार रातिबाट उज्यालो फर्किएको छ। विगत ७२ घण्टादेखि जारी विद्युत अवरोधले जनजीवन कष्टकर बनेपछि प्रतिनिधिसभा सदस्य हरि पन्तले गरेको निरन्तर पहल र दबाबका कारण सेवा सुचारु भएको हो।
पर्सा क्षेत्र नं १ का सांसद पन्तले काठमाडौँमा रहँदा होस् वा वीरगञ्ज आइपुगेपछि, लगातार विद्युत प्राधिकरणका अधिकारीहरूसँग संवाद र समन्वय गरिरहे। विद्युत सेवा अवरुद्ध हुनुको कारणबारे जानकारी माग्दै उनले प्राधिकरण वीरगञ्जका प्रमुख विजय महतोलाई तत्काल सेवा सुचारु गर्न कडा निर्देशन दिएका थिए।
काठमाडौँबाटै प्राधिकरण र स्थानीय निकायसँग समन्वय गरेका सांसद पन्त बिहीबार राति नै वीरगञ्ज आइपुगेका थिए। शुक्रबार उनले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा विद्युत प्राधिकरण प्रमुख महतोसँग छलफल गर्दै भने, “जनताले तीन दिनदेखि गर्मी र खानेपानीको अभावमा सास्ती खेप्नुपर्यो, यो चरम लापर्बाही हो। अबको केही घण्टामै सेवा सुचारु हुनुपर्छ।”
छलफलका क्रममा प्राधिकरण प्रमुख महतोले अमर ९बोखार० चोक आसपासका स्थानीयको अवरोधका कारण वीरगञ्जमा अन्डरग्राउण्ड विद्युत प्रणाली विस्तारको काम रोकिएको र त्यसैले समस्या निम्तिएको जानकारी दिए। लामो समयदेखि थन्किएको काम सांसद पन्तको सक्रियता र प्रजिअसँगको छलफलपछि बिहीबारबाट पुन, सुरु भएको थियो। पन्तको दबाबपछि नै प्राविधिक टोलीले युद्धस्तरमा काम गरी शुक्रबार राति ९ बजेबाट विद्युत आपूर्ति सुचारु गर्न सफल भएको हो।
विद्युत सुचारु भएसँगै सांसद पन्तले यसखाले समस्या पटक–पटक दोहोरिनु दुःखद भएको भन्दै अबका दिनमा यस्तो लापरबाही सह्य नहुने चेतावनी दिएका छन्। “वीरगञ्जको विद्युत सेवालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुनुहुँदैन,” उनले भने।
लामो समयको विद्युत अवरोधले वीरगञ्जका बासिन्दाले सास्ती व्यहोर्नुपरेको थियो। सांसद पन्तको यो हस्तक्षेपकारी भूमिका र निरन्तर पहलकदमीले जनताको आवाजलाई सम्बोधन गराउन सफल भएको स्थानीयले महसुस गरेका छन्। अबका दिनमा पूर्वाधार निर्माणका कार्यलाई तीव्रता दिने र वीरगञ्जवासीलाई नियमित विद्युतको सुनिश्चितता गर्ने प्रतिबद्धता सम्बन्धित पक्षबाट आएको छ।
https://www.facebook.com/reel/2016235679265748



















