जीवनमा कहिलेकाहीँ यस्ता क्षणहरू आउने रहेछन, जसले वर्षौँको सम्बन्धभन्दा केही घण्टाको चिनजानलाई गहिरो बनाइदिन्छ। शनिबार मेरो जीवनमा पनि यस्तै एउटा दिन बन्यो। बिहान पहिलोपटक भेटिएको एक सहयोगी, विनम्र र मानवीय व्यक्तित्व साँझसम्म सम्झनामा मात्र सीमित हुनेछ भन्ने कल्पना पनि गरेको थिइनँ।
बिहानको समय सामान्य थियो। प्रिय मित्र उमेश रेग्मीको आग्रहमा हाम्रो गाउँक अग्रज दाजु शंकर आचार्यको स्वास्थ्य अवस्था बुझ्न गैँडाकोट गयौँ। उहाँसँग केही समय बिताएर भरतपुर फर्किंदै गर्दा घरबाट फोन आयो। छोरीको हातमा आएको सामान्य समस्याको उपचारका लागि अस्पताल लैजानुपर्ने भयो। भरतपुरका अन्य अस्पतालमा तत्काल शल्यक्रिया सम्भव नभएपछि उमेशजीले मनकामना अस्पतालका सूचना अधिकारी तथा शेयर सदस्य रमेश पाण्डेसँग सम्पर्क गर्नुभयो।
दिउँसो करिब एक बजे मनकामना अस्पताल पुग्दा उहाँसँग मेरो पहिलो भेट भयो। पहिलो भेटमै उहाँले कुनै औपचारिकता देखाउनुभएन। बरु आफ्नै परिवारको सदस्यजस्तो आत्मीय व्यवहार गर्नुभयो। आफू खाजा खाइरहनुभएको ठाउँबाट उठेर उपचार प्रक्रिया छिटो गराउनेदेखि चिकित्सकसँग समन्वय गर्ने र सकेसम्म बिरामीलाई सहज होस् भनेर शुल्कमा समेत सहजीकरण गर्न उहाँ निरन्तर सक्रिय रहनुभयो। उहाँको व्यवहारमा पदको अहंकार थिएन, सेवाको भावना मात्र थियो।
डा. गौरव कटुवालको टोलीले छोरीको सामान्य शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्यो। उपचार सहज बनेपछि हामी डाक्टरको टोलिलाई धन्यवाद दिँदै अस्पतालबाट फर्कियौँ। रमेश पाण्डे भने अस्पतालमा नभएकोकोले वहाँ लाई धन्यवाद दिन पाएको थिइन,त्यो नै उहाँसँगको पहिलो र अन्तिम भेट हुनेछ भन्ने मैलेले सोचेको पनि थिएन।
अस्पतालबाट फर्किंदै गर्दा पूर्व–पश्चिम राजमार्गमा बोलेरो र स्कुटर ठोक्किएको दुर्घटनास्थल देखियो। पत्रकार भएकाले मैले घटनास्थलका केही तस्बिर र भिडियो सङ्कलन गरेँ। केहीबेरमै जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त आधिकारिक सूचनाका आधारमा रेसखबर अनलाइनका लागि दुर्घटनाको समाचार तयार गरेँ। समाचारमा स्कुटर चालक रमेश पाण्डे घाइते भएको उल्लेख थियो। प्रहरी प्रमुखसँग सम्पर्क गर्दा उहाँको अवस्था चिन्ताजनक रहेको जानकारी पाएँ।
तर त्यसबेला मलाई एउटा कुराको हेक्का नै थिएन—समाचारमा उल्लेख भएको घाइते रमेश पाण्डे केही घण्टाअघि मात्रै मेरी छोरीको उपचार सहज बनाउन दौडधुप गरिरहनुभएको त्यही आत्मीय व्यक्ति हुनुहुन्थ्यो।
साँझ करिब ६स्३३ बजे धादिङबाट उमेश रेग्मीको फोन आयो। उहाँको स्वर नै असामान्य थियो। उहाँले भन्नुभयो, “दिउँसो अस्पतालमा भेटिएका रमेश पाण्डे अब रहनुभएन।”
त्यो एक वाक्यले मन स्तब्ध बनायो।
केही घण्टाअघि मुस्कुराउँदै अरूको पीडा कम गर्न खटिएको मानिस केही घण्टामै आफ्नै जीवनसँग हारेर बिदा भएको खबर स्वीकार गर्न मनले मानेन।
पछि दुर्घटनाको दृश्य हेर्दा मन झन् भक्कानियो। एउटा तीव्र गतिले कसैको जीवन मात्र होइन, एउटा परिवारको आधार, साथीभाइको विश्वास र समाजले पाएको असल मानिसलाई पनि एकैछिनमा खोसेर लगेको थियो।
झन् अनौठो संयोग त के रहेछ भने उहाँ र म दुवै भरतपुर–११ का बासिन्दा रहेछौँ। एउटै वडामा बस्दा वर्षौँसम्म भेट हुन सकेन। जब भेट भयो, त्यो भेट जीवनकै अन्तिम भेट बन्यो।
मानिसलाई चिन्ने समय सधैँ वर्षौँ चाहिँदैन रहेछ। कहिलेकाहीँ केही घण्टाको व्यवहारले नै उसको सम्पूर्ण व्यक्तित्व देखाइदिन्छ। रमेश पाण्डेले आफ्नो परिचय पदबाट होइन, सहयोगी मन, सरल व्यवहार र मानवीय संवेदनाबाट दिनुभयो। त्यसैले उहाँसँगको छोटो भेट मेरो स्मृतिमा सधैँ जीवित रहनेछ।
स्वर्गीय रमेश पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
जीवन अनिश्चित छ, तर असल व्यवहार अमर हुन्छ। केही घण्टाको चिनजानले पनि जीवनभर साथ दिने सम्झना छोड्न सक्छ भन्ने पाठ रमेश पाण्डेले आफ्नो अन्तिम भेटमै सिकाएर जानुभयो।




















