२ साउन, चितवन । निरन्तरको वर्षासँगै सडक यात्रा थप जोखिमपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको छ। आज राति १० बजेदेखि लागू हुने गरी प्रशासनले अर्को सूचना नभएसम्मका लागि सडकमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
धादिङ, चितवनलगायतका छिमेकी जिल्लाहरूमा अहिले भइरहेको निरन्तरको वर्षा र मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा थप वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि प्रशासनले यस्तो कदम चालेको हो। रातिको समयमा यात्रा गर्दा सडक पहिरोको उच्च जोखिम हुने र आकस्मिक दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षालाई नै प्राथमिकतामा राखेर यस्तो निर्णय लिनुपरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।
यस निर्णयबाट रात्रीकालीन यात्रा गर्ने यात्रु तथा व्यवसायीहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना गर्दै विषम परिस्थितिलाई बुझिदिन सर्वसाधारणसँग आग्रह गरेको छ। प्रशासनले विशेष गरी रातको समयमा पहिरोको जोखिम बढी हुने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी नचलाउन र सुरक्षा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
यदि कुनै यात्रु वा सर्वसाधारणलाई यात्राका क्रममा समस्या परेमा, सूचनाको आवश्यकता भएमा वा आपतकालीन सहयोग चाहिएमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको ११४४ तथा जिल्ला प्रहरी कार्यालय चितवनको सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०९३९९९ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रशासनले सडकको अवस्थामा सुधार नआएसम्म र थप सुरक्षित नभएसम्म अनावश्यक जोखिम मोलेर यात्रा नगर्न पुनः आग्रह गरेको छ।




















