६ साउन, वीरगञ्ज । पर्सा जिल्लामा घरेलु हिंसाको अवस्था निकै भयावह रहेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको असार महिनाको प्रगति विवरण अनुसार जिल्लाभरबाट घरेलु हिंसाका कुल ५८ वटा उजुरीहरू दर्ता भएका छन् ।
समाजमा जरो गाडेर रहेको पारिवारिक असमझदारी र उत्पीडनका कारण यति ठुलो सङ्ख्यामा महिला तथा परिवारका सदस्यहरू कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेको प्रतिवेदनले देखाउँछ । प्रहरीले दिएको जानकारीअनुसार दर्ता भएका कुल ५८ वटा घरेलु हिंसाका उजुरीहरूमध्ये सबै ५८ वटै मुद्दामा आपसी मिलापत्र गराइएको छ ।
घरेलु हिंसाका उजुरीहरूलाई अदालत पठाउने सङ्ख्या शून्य रहेको छ, जसले प्रहरी प्रशासनले सकेसम्म पारिवारिक विवादलाई आपसी सहमतिमै सुल्झाउन जोड दिएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लका अनुसार घरेलु हिंसाका घटनामा उजुरी पर्नासाथ सिधै कानुनी कारबाहीभन्दा पनि पारिवारिक सम्बन्ध जोगाउने प्रयासलाई पहिलो प्राथमिकता दिने गरिएको छ ।
“हाम्रो पहिलो प्राथमिकता नै मिलापत्र गराउने हो,“ डिएसपी बस्नेतले भने, “हामीले जिल्ला प्रहरी कार्यालयका साथै मातहतका ईलाका र वडा प्रहरी कार्यालयहरूमार्फत समेत आवश्यक समन्वय गरी दुवै पक्षलाई राखेर मिलापत्र गराउँदै आएका छौँ।“
श्रीमान श्रीमतिकै असमझदारीका उजुरी बढी आएको डिएसपी मल्लको भनाई छ ।
घरेलु हिंसाको पालिकागत तथ्याङ्कलाई हेर्दा वीरगञ्ज महानगरपालिकामा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ । कुल उजुरीमध्ये वीरगञ्ज महानगरपालिकामा मात्रै ३५ वटा उजुरी दर्ता भएका छन् ।
त्यसैगरी बहुदरमाई नगरपालिकाबाट ४, पर्सागढी र पोखरिया नगरपालिकाबाट २-२ वटा उजुरी परेको प्रतिवेदनले देखाएको छ । उता जगरनाथपुर गाउँपालिबाट ४, बिन्दवासन र सखुवाप्रसौनी गाउँपालिकाबाट ३-३ वटा उजुरी परेको छ भने, पकाहामैनपुर र पटेर्वासुगौलीबाट २-२ र कालिकामाई गाउँपालिकाबाट एउटा मात्र उजुरी परेको प्रहरीले जनाएको छ ।
यसैगरी ठोरी, छिपहरमाई, धोबिनी र जिराभवानी गाउँपालिकामा असार महिनामा घरेलु हिंसाको उजुरी सङ्ख्या शून्य रहेको छ ।





















