Logo

६ साउन, चितवन । बर्डफ्लुका कारण उत्पादनमा गिरावट र बजारमा माग वृद्धि भएसँगै अण्डाको मूल्य पुनः उकालो लाग्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले नयाँ बजार मूल्य तय गर्दै आजैदेखि लागू हुने गरी सबै प्रकारका अण्डामा प्रतिक्रेट (३० वटा) ५० रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

सङ्घका अनुसार नयाँ दरभाउ अनुसार ठुलो अण्डा प्रतिक्रेट ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। त्यसैगरी मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ र सानो अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय बजारमा अण्डाको खपत बढे पनि बर्डफ्लु महामारीका कारण उत्पादन भने भारी मात्रामा घटेको छ। “पहिले देशभर दैनिक करिब ४५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुका कारण फार्महरू प्रभावित भएपछि अहिले दैनिक उत्पादन घटेर २८ लाख गोटामा सीमित भएको छ,” उनले भने ।

गत जेठको अन्तिम साता प्रतिक्रेट ५५० रुपैयाँसम्ममा बिक्री भएको अण्डाको मूल्य बर्डफ्लुको त्रास र बजारमा माग घट्दा ४५० रुपैयाँसम्म झरेको थियो। हाल बजारमा माग पुनः बढेकाले मूल्य समायोजन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

सङ्घको अध्ययनअनुसार अण्डाको वर्तमान लागत मूल्य प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्न आउँछ। अहिले मूल्य बढेर प्रतिक्रेट ५०० रुपैयाँ पुगे पनि किसानहरूले अझै लागत मूल्य पाउन सकेका छैनन् ।

“मूल्य बढ्न सुरु भएकाले अब छिट्टै किसानले लागत मूल्य पाउने आशा छ,” अध्यक्ष पोखरेलले भने, “तर बर्डफ्लुका कारण ठुलो क्षति व्यहोरेका कुखुरापालक किसानलाई पलायन हुनबाट जोगाउन राज्यले तत्काल विशेष राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ।”


सम्बन्धित समाचार
भर्खरै