६ साउन, काठमाडौं । कीर्तिपुरको ट्याङ्लाफाँटमा मंगलबार बिहान भएको कार आगलागी दुर्घटना नभई आत्मदाह रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।
घटनामा ज्यान गुमाएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले मेडिकल व्यवसायमा भएको नोक्सानी र त्यसपछिको मानसिक दबाबका कारण नियतबस आफ्नै गाडीमा आगो लगाएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
नरदेवी स्थायी घर भई हाल कीर्तिपुरको ग्रीन उड भिल्लामा बस्दै आएका श्रेष्ठले मंगलबार बिहान आफैँ गाडी चलाएर सुम्लाङकोटको खाली ठाउँमा पुगी सवारीसाधनभित्र पेट्रोल छर्किएका थिए ।
कोभिड महामारीको समयमा विदेशबाट अत्यावश्यक स्वास्थ्य सामग्री आयात गर्दा व्यापारमा ठूलो घाटा व्यहोरेका उनी बजारबाट रकम नउठ्दा र ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था भएपछि गहिरो मानसिक तनावमा थिए। परिवारका अनुसार त्यसयता उनी अस्वाभाविक व्यवहार समेत देखाउँदै आएका थिए ।
घटनास्थलको सीसीटीभी फुटेजमा श्रेष्ठले गाडीभित्रै आगो लगाएको र कम्मरको सिट बेल्टसमेत नखोलेको देखिएको छ । एक प्रत्यक्षदर्शीले गाडीको ढोका खोले पनि आफ्नै हातमा आगो सल्किएपछि उनी भाग्न बाध्य भएका थिए ।
ढोका खुलिसक्दा पनि चालक सिटमै रहेका श्रेष्ठ बाहिर निस्किएनन् र आगो निभाइएपछि उनी मृत अवस्थामा फेला परेका हुन् । मृतक र रजनी श्रेष्ठको नाममा दर्ता रहेको सो गाडी उनीहरूले २०६२ सालमा खरिद गरेको यातायात व्यवस्था कार्यालयको अभिलेखबाट खुल्न आएको छ ।




















