Logo

६ साउन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरेको जनाएको छ। कार्यालयका अनुसार सोही अवधिमा ८ हजार ६०७ जनालाई राहदानी उपलब्ध गराइएको छ।

प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार एक वर्षमा ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन्। त्यस्तै, ३२ हजार ९९० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गराएका छन् भने २ हजार ६२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

कार्यालयका अनुसार राहदानी शुल्कबापत मात्रै ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

शान्ति–सुरक्षा व्यवस्थापनतर्फ सीमा समन्वय बैठक, जिल्ला सुरक्षा समिति बैठक, कारागार निरीक्षण तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रशासनले जनाएको छ।

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन कार्यालयले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणाली, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन, अभिलेख डिजिटाइजेसन, एकद्वार सेवा तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

प्रशासन कार्यालयले प्रविधिको प्रयोग र सेवा सुधारका माध्यमबाट नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ।


सम्बन्धित समाचार