७ साउन, काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा लामो समयदेखि फरार रहेका काठमाडौँका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँ महानगरपालिका–७ सिफल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो । व्यावसायिक तथा वित्तीय अपराधको एक मुद्दामा दीपक भट्टसँग जोडिएका रिमाल गत जेठ २८ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुँदादेखि नै फरार प्रतिवादीको सूचीमा रहेका थिए ।
सीआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ लगत्तै रिमाललाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।




















