८ साउन, वीरगञ्ज । मेडिकल शिक्षा प्रवेश परीक्षा (NEET-UG) को प्रश्नपत्र चुहावट (पेपर लिक) विरुद्ध र कडा कानुनी प्रबन्धको माग राख्दै आमरण अनशनमा बसेका भारतका ख्यातिप्राप्त सामाजिक अभियन्ता सोनम वाङचुकले २६ औँ दिनमा अनशन अन्त्य गरेका छन्।
केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह र लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको विशेष उपस्थितिमा उनले अनशन तोडेका हुन्।
वाङचुकले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत जानकारी दिँदै लामो वार्ता, केही सर्तहरूमा बनेको सहमति र मुलुकमा सम्भावित हिंसाको जोखिमलाई दृष्टिगत गरी अनशन फिर्ता लिएको बताएका छन्। यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई संयुक्त पत्र लेख्दै अनशन तोड्न आग्रह गरेका थिए।
मे ३ मा सम्पन्न NEET-UG परीक्षाको प्रश्नपत्र चुहावट भएपछि त्यसको विरोधमा विद्यार्थीहरू र ‘ककरोच जनता पार्टी’ले विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा निरन्तर धर्ना तथा प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई मुख्य सर्त बनाएका छन्।
सोही विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै वाङचुक अनशनमा होमिएका थिए। भारतको संसद्मा समेत विपक्षी दलहरूले निरन्तर नाराबाजी र अवरोध गरेपछि मोदी सरकार तीव्र दबाबमा परेको थियो।
आन्दोलन र चौतर्फी दबाबका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यराति २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश जारी गर्दै पेपर लिकविरुद्ध नयाँ र कडा सजायको व्यवस्थासहितको कानुन ल्याउने घोषणा गरेका छन्।
“पेपर लिक सामान्य विषय होइन, यसले लाखौँ होनहार विद्यार्थी र उनीहरूका अभिभावकलाई गहिरो पीडा दिएको छ,” प्रधानमन्त्री मोदीले भने, “दोषीहरूलाई पक्राउ गरी जेल हालिसकिएको छ। अब यस्ता मुद्दाको छिटो किनारा लगाउन फास्ट ट्र्याक अदालत गठन गरिनेछ र कडा सजायको कानुनी मस्यौदा संसद्बाट पारित गराइनेछ।”
उक्त विधेयकको मस्यौदामाथि केन्द्रीय मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा छलफल गरी आगामी साता संसद्मा पेस गर्ने सरकारको तयारी छ।
NEET-UG प्रश्नपत्र चुहावट प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (CBI) ले गरिरहेको छ। महाराष्ट्र, राजस्थान र दिल्लीलगायतका विभिन्न राज्यमा सञ्चालित छापा मारी अपरेशनका क्रममा हालसम्म १३ जना मुख्य आरोपीहरूलाई नियन्त्रणमा लिइसकिएको छ।
सीबीआईले छिट्टै यस प्रकरणमा अदालतसमक्ष बलियो आरोपपत्र (चार्जशीट) पेस गर्ने जनाएको छ। यता आन्दोलनकारी दलहरूले भने कानुनी रूपमै माग पूरा नभएसम्म जन्तर–मन्तरमा शान्तिपूर्ण प्रदर्शन जारी राख्न समर्थकहरूलाई आह्वान गरेका छन्।




















