Logo

८ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन। महानगरले १ अर्ब ७० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखे पनि ६७ करोड ५९ लाख ६४ हजार ८ सय ९८ रुपैयाँ ३९ पैसा मात्रै संकलन गरेको छ।

महानगरको यो राजश्व संकलन कुल लक्ष्यको ३९ दशमलव ७६ प्रतिशत मात्रै हो। तथ्यांकले महानगरको आन्तरिक आम्दानी अपेक्षाअनुसार वृद्धि हुन नसकेको देखाएको छ।

यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा भने राजश्व संकलनमा सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा महानगरले ६२ करोड ९३ लाख ८५ हजार ३ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा करिब ४ करोड ६५ लाख ७९ हजार रुपैयाँ बढी राजश्व उठेको हो।

महानगरको आय शीर्षकअनुसार सबैभन्दा बढी राजश्व सम्पत्ति कर, घरबहाल कर र नक्सापास दस्तुरबाट संकलन भएको छ। सम्पत्ति करबाट १९ करोड ७३ लाख ६ हजार ७ सय ६० रुपैयाँ, घरबहाल करबाट १४ करोड ९ लाख ७३ हजार १ सय ९ रुपैयाँ तथा नक्सापास दस्तुरबाट ४ करोड ६४ लाख ९१ हजार ५ सय ३ रुपैयाँ संकलन भएको महानगरले जनाएको छ।

यता, करदाताले भने महानगरले निर्धारण गरेका कतिपय करका दर उच्च भएकाले नागरिकमाथि आर्थिक भार बढेको गुनासो गरेका छन्। वीरगञ्ज–शिरोमणिनगरका सञ्जय पटेलले सम्पत्ति कर, घरबहाल करलगायतका दर अत्यधिक भएकाले कर तिर्न समस्या भइरहेको बताए।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य नै यथार्थपरकभन्दा बढी निर्धारण गरिएकाले लक्ष्य पूरा हुन नसकेको बताए। उनका अनुसार महानगरको प्रमुख आयस्रोत रहेको सम्पत्ति करको दायरामा सबै लक्षित करदातालाई समेट्न नसक्नु पनि राजश्व संकलन कमजोर हुनुको मुख्य कारण हो।

बोहराले चालु आर्थिक वर्षमा राजश्व प्रशासनलाई थप प्रभावकारी बनाउने, करको दायरा विस्तार गर्ने, आन्तरिक स्रोत परिचालन बढाउने र राजश्व संकलन सुधार गर्ने योजना अघि बढाइएको जानकारी दिए।


सम्बन्धित समाचार