Logo

८ साउन,वीरगञ्ज । लेनदेन पीडित संघर्ष समिति, पर्साले पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशीलकुमार कानुलाई भेटेर लेनदेनसम्बन्धी समस्या तथा आफ्ना मागहरू प्रस्तुत गरेको छ।

समितिका अध्यक्ष सुनिल पाण्डेको नेतृत्वमा गएको टोलीले बिहीबार साँझ वीरगञ्जस्थित सांसद कानुको निवासमै पुगेर लेनदेनसम्बन्धी विवाद, मिटरब्याजीको आरोपमा निर्दोष लगानीकर्ता समेत समस्यामा परेको र कानुनसम्मत कारोबारलाई समेत एकतर्फी रूपमा हेर्ने गरिएको भन्दै गुनासो राखेको हो।

समितिले सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको ९ बुँदे सहमति तथा लिखत–कपाली र चेकसम्बन्धी निर्णयका कारण कानुनअनुसार लगानी गरेका व्यक्तिहरू समेत प्रभावित भएको दाबी गरेको छ। पर्याप्त प्रमाणबिना सबै लगानीकर्तालाई ‘मिटरब्याजी’को संज्ञा दिँदा सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर परेको समितिको भनाइ छ।

भेटका क्रममा समितिका प्रतिनिधिहरूले ऋणी र लगानीकर्ता दुवै पक्षको कुरा सुनेर निष्पक्ष छानबिन गर्न, दोषीलाई मात्र कानुनी कारबाहीको दायरामा ल्याउन र निर्दोष लगानीकर्तालाई अनावश्यक दुःख नदिन सांसद कानुसँग आग्रह गरेका थिए।

ज्ञापनपत्र बुझ्दै सांसद सुशीलकुमार कानुले समितिले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने र विषयलाई प्रतिनिधि सभा बैठकमा समेत उठाउने प्रतिबद्धता व्यक्त गरे।

सांसद कानुले गलत काम गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने भए पनि केही व्यक्तिको कमजोरीका आधारमा सबै लगानीकर्तालाई एउटै दृष्टिकोणले हेर्न नहुने धारणा राखे। निर्दोष व्यक्तिको प्रतिष्ठामा असर पर्ने गरी हुने व्यवहारप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो।

समितिले आफ्ना माग सम्बोधनका लागि सांसद कानुमार्फत संसद्मा आवाज उठाइदिन आग्रह गरेको छ। सांसद कानुले समेत सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।


सम्बन्धित समाचार